निर्माणाधीन भवनबाट लडेर मृत्यु भएका मजदुरका परिवारलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति

सिर्जन मिडिया
२०८३/०३/२४
View Updating
लाइभ: १२ पढ्दैछन्
निर्माणाधीन भवनबाट लडेर मृत्यु भएका मजदुरका परिवारलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति

२४ असार २०८३ | राजेश आचार्य | झापा

झापाको बाह्रदशी गाउँपालिका–५ स्थित निर्माणाधीन नयाँ प्रशासकीय भवनमा रंग लगाउने क्रममा लडेर मृत्यु भएका मजदुर टंक थापाका परिवारलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने भएको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–४ निवासी ४२ वर्षीय थापा मंगलबार बिहान करिब ९ः४० बजे तीनतले भवनमा रंग लगाइरहेका बेला अचानक सन्तुलन गुमाएर तल खसेका थिए। खस्ने क्रममा उनी बीचमा रहेको फलामको ग्रिलमा अड्किँदा निधार र दाहिने तिघ्रामा गम्भीर चोट लागेको थियो।

दुर्घटनापछि गाउँपालिकाका कर्मचारी, स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उनको तत्काल उद्धार गरी बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि बुधबार बाह्रदशी गाउँपालिकामा गाउँपालिका, निर्माण कम्पनी, रङ्ग कम्पनी तथा सम्बन्धित पक्षबीच भएको छलफलले मृतकका परिवारलाई राहत उपलब्ध गराउने सहमति गरेको हो।

सहमतिअनुसार निर्माण कम्पनी भगवती नेपाल पूर्वाधार जे.बी. र रङ्ग कम्पनीले संयुक्त रूपमा २० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनेछन् भने बाह्रदशी गाउँपालिकाले काजक्रिया खर्चस्वरूप २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ। यससँगै मृतकका परिवारले कुल २२ लाख रुपैयाँ राहत प्राप्त गर्नेछन्।

गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै निर्माणस्थलमा कार्यरत मजदुरहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै सुरक्षा मापदण्डको पूर्ण पालना गर्न निर्माण कम्पनी तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्