एम्बुलेन्सले शव बोक्न मानेन, सिटी सफारीमा हजुरआमाको शव बोकेर घर फर्किन बाध्य कानेपोखरीका नातिहरू

असार २५ २०८३ । दुर्गा मुर्मु । मोरङ्ग
कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिका–२ केरौनका एक परिवारले शववाहन अभावका कारण हजुरआमाको शव सिटी सफारीमा राखेर घर लैजान बाध्य भएको घटनाले स्थानीयवासीलाई भावुक बनाएको छ।
स्थानीय घुर्नी ऋषिदेव अचानक बेहोस भएपछि परिवारले उपचारका लागि कानेपोखरी अस्पताल पुर्याएका थिए। अस्पतालमा पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
परिवारका अनुसार मृत घोषणा भएपछि एम्बुलेन्सले शव बोक्न अस्वीकार गर्यो। गाउँपालिकाले केही समयअघि सञ्चालन गरेको "घरदेखि घाटसम्म" नारासहितको शववाहन सेवा पनि अहिले उपलब्ध नभएको बताइएको छ। यसपछि शव घरसम्म लैजान अन्य कुनै विकल्प नहुँदा एक जना सिटी सफारी चालकले मानवीय संवेदनशीलता देखाउँदै आफ्नो सवारीमार्फत निःशुल्क शव घरसम्म पुर्याइदिए।
हजुरआमाको शवसँगै आँसु पुछ्दै सिटी सफारीमा सवार रोशन ऋषिदेव, सुरज ऋषिदेव लगायतका नातिहरूको दृश्यले उपस्थित सबैलाई भावुक बनाएको थियो।
स्थानीयवासीले यो घटना एउटा परिवारको मात्र पीडा नभई अत्यावश्यक शववाहन सेवा अभावमा ग्रामीण भेगका नागरिकले भोग्नुपरेको वास्तविक समस्या भएको बताएका छन्। उनीहरूले स्थानीय तहले शववाहनजस्ता आधारभूत सेवाको निरन्तर व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
यद्यपि, गाउँपालिकाको शववाहन सेवा किन सञ्चालनमा छैन वा बन्द भएको हो भन्ने विषयमा सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
