हुल दिवसमा ‘सन्ताल भ्वाइसेज’ शुभारम्भ, सन्थाल समुदायको आवाजलाई विश्वमाझ पुर्याउने लक्ष्य

झापा, असार १६ — ऐतिहासिक हुल दिवसको अवसरमा सन्थाल समुदायको भाषा, साहित्य, संस्कृति, इतिहास तथा समसामयिक विषयलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने उद्देश्यसहित ‘सन्ताल भ्वाइसेज’ नामक अंग्रेजी-भाषा डिजिटल समाचार तथा ज्ञानमूलक प्लेटफर्म सार्वजनिक गरिएको छ।
प्लेटफर्मले सन् १८५५ मा सिधो मुर्मु र कान्हु मुर्मुको नेतृत्वमा ब्रिटिश औपनिवेशिक शासनविरुद्ध भएको ऐतिहासिक सन्थाल हुल विद्रोहको स्मरण गर्दै आफ्नो औपचारिक यात्रा सुरु गरेको जनाएको छ । उक्त विद्रोहमा सिधो, कान्हु, चन्द र भैरवजस्ता नेताहरूले देखाएको साहस, त्याग र संघर्ष आज पनि सन्ताल समुदायका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गरिएको छ।
सार्वजनिक गरिएको सन्देशमा पछिल्ला वर्षहरूमा ओल चिकी लिपिमा सन्थाली भाषाको सामग्री उल्लेखनीय रूपमा बढ्दै गए पनि सन्थाल समुदायका विचार, मुद्दा र गतिविधिलाई विश्वसामु प्रस्तुत गर्ने समर्पित अंग्रेजी-भाषा प्लेटफर्मको अभाव रहेको उल्लेख गरिएको छ । मुख्यधारका सञ्चारमाध्यमले सन्ताल समुदायका विषयलाई पर्याप्त प्राथमिकता नदिएको अवस्थालाई मध्यनजर गर्दै ‘सन्ताल भ्वाइसेज’ सुरु गरिएको जनाइएको छ ।
प्लेटफर्मले हाल सार्वजनिक गरिएको संस्करण प्रारम्भिक चरणको मात्र भएको जनाउँदै आगामी दिनमा यसलाई सन्ताली भाषा, साहित्य, संस्कृति, इतिहास तथा समसामयिक विषयमा समाचार, विश्लेषण, अनुसन्धान, अभिलेख र ज्ञानको विश्वसनीय स्रोतका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
यस अभियानको सुरुवात सन् २०१४ देखि सन्थाली भाषाको डिजिटल सशक्तीकरण र प्रवर्द्धनमा सक्रिय टोलीले गरेको हो। आर. अश्वनी बन्जन मुर्मु यस पहलका संरक्षक रहेका छन् भने रामजित टुडुले परियोजनाको नेतृत्व तथा मार्गदर्शन गरिरहेका छन्।
सम्पादकीय तथा सामग्री निर्माण टोलीमा करिया बास्के, बोदी बास्की, प्रशान्त हेम्ब्रम, बिजेन्द्र हांसदा, सुकु मुर्मु, प्रेमचन्द मुर्मु, शुभाशिष किस्कुलगायत अनुभवी सामग्री सिर्जनाकर्ताहरू आबद्ध छन् । यसैगरी बंगलादेशका अल्बेटस टुडु र सुवास मुर्मु तथा नेपालका शिबु मुर्मुको सहभागिताले यस पहललाई अन्तरदेशीय सहकार्यमा आधारित बनाएको जनाइएको छ ।
‘सन्ताल भ्वाइसेज’ले सन्ताली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई आफ्नो प्रमुख दायित्वका रूपमा लिँदै समुदायको विश्वास र सहयोगमार्फत सन्ताल समुदायको प्रामाणिक आवाज बन्ने प्रतिबद्धता व्यक्त गरेको छ।
आधिकारिक वेवसाइट https://santalvoices.org रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
