१६ वर्षपछि फेरि विश्वविजेता बन्यो स्पेन

साउन ४ । शिबु मुर्मु । झापा
स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै १६ वर्षपछि पुनः विश्व फुटबलको शिखरमा आफूलाई स्थापित गरेको छ।
न्यूयोर्क–न्यू जर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलअन्तरले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्वकप ट्रफी उचाल्यो।
खेलको सुरुआतदेखि नै स्पेनले आक्रामक प्रदर्शन गरेको थियो। पाँचौं मिनेटमा लामिन यमालले गरेको प्रहार अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गरे। त्यसपछि ३९औं मिनेटमा मिकेल ओयारजाबालको शक्तिशाली प्रहार पनि मार्टिनेजले रोक्दै अर्जेन्टिनालाई खेलमा टिकाइराखेका थिए।
पहिलो हाफभरि स्पेनले खेलमा पूर्ण नियन्त्रण कायम राख्यो भने अर्जेन्टिनाले एउटा पनि प्रभावकारी प्रहार गर्न सकेन। दोस्रो हाफमा पनि स्पेनले निरन्तर दबाब बनाए पनि निर्धारित ९० मिनेटसम्म कुनै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
अतिरिक्त समयको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको १०६औं मिनेटमा फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए। उक्त गोल नै खेलको एकमात्र गोल सावित भयो।
यससँगै स्पेनले सन् २०१० मा पहिलो पटक जितेको विश्वकपपछि १६ वर्षको अन्तरालमा दोस्रो पटक फिफा विश्वकपको उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ। अर्कोतर्फ, साविक विजेता अर्जेन्टिनाले उपाधि रक्षा गर्ने अवसर गुमाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
