भारतमा १८ महिनाका बालकको हत्या प्रकरणमा दोषीलाई मृत्युदण्ड

सिर्जन मिडिया
२०८३/०३/३०
View Updating
लाइभ: १२ पढ्दैछन्
भारतमा १८ महिनाका बालकको हत्या प्रकरणमा दोषीलाई मृत्युदण्ड

असार ३० | शिव हास्दा | झापा

भारतको उत्तर प्रदेशस्थित फिरोजाबादमा १८ महिनाका बालकको निर्मम हत्या गरेको अभियोगमा २८ वर्षीय व्यापारी जितेन्द्र पाठक उर्फ विराजलाई जिल्ला अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । घटना भएको करिब ४० दिनमै आएको फैसलामा अदालतले उक्त अपराधलाई "अत्यन्त दुर्लभमध्ये दुर्लभ" प्रकृतिको ठहर गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रहरीका अनुसार रति शर्मा वैवाहिक विवादका कारण जनवरीदेखि माइतीमा बस्दै आएकी थिइन्। यही क्रममा उनका श्रीमानका आफन्त जितेन्द्र पाठकसँग चिनजान भएको थियो। पछि पाठकले रतिसँग विवाहको प्रस्ताव राखेका थिए। तर रतिले आफ्नो १८ महिनाका छोरालाई छाड्न नसक्ने भन्दै प्रस्ताव अस्वीकार गरेकी थिइन्। त्यसपछि पाठकले बालकलाई आफ्नो सम्बन्धको बाधक ठानेर हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ ।
गत मे ३० मा रति शर्मा र उनकी आमा वैवाहिक विवादसम्बन्धी कानुनी सल्लाहका लागि शिकोहाबाद गएका थिए। उनीहरू एक परिचितको घरमा बसिरहेका बेला पाठक त्यहाँ पुगेका थिए। रतिले पुनः विवाहको प्रस्ताव अस्वीकार गरेपछि उनले १८ महिनाका बालकलाई मिठाइ किनिदिने बहानामा घरबाट करिब ५० मिटर टाढा रहेको सुनसान स्थानमा लगेका थिए।
त्यहाँ उनले बालकलाई पटक–पटक जमिनमा बजारेका थिए, जसका कारण घटनास्थलमै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका क्रममा आएको ठूलो आवाजलाई स्थानीयले सुरुमा सिमेन्टका बोरा खसेको आवाज ठानेका थिए। पछि एक स्थानीयले सीसीटीभीमा घटना देखेपछि बाहिर निस्किएका थिए। त्यसपछि पाठकले बालकलाई घरको ढोकासम्म ल्याएर लडेर घाइते भएको बहाना बनाउँदै त्यहाँ छाडेर फरार भएका थिए।
परिवारले बालकलाई अचेत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले पाठकलाई पक्राउ गरेको थियो। पक्राउका क्रममा उनका दुवै खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। प्रहरीले घटना भएको ६ दिनमै आरोपपत्र दायर गरेको थियो।
मृतक बालककी हजुरआमा तथा मुद्दाकी उजुरीकर्ता अनुसुइया शर्माले अदालतको निर्णयप्रति सन्तुष्टि व्यक्त गर्दै दोषीलाई मृत्युदण्ड कार्यान्वयन नभएसम्म आफ्नो कानुनी लडाइँ जारी रहने बताएकी छन्। यता प्रतिवादी पक्षका वकिलले भने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन्।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्