गौरीगञ्ज–१ स्थित इन्द्रेणी आधारभूत विद्यालयमा सन्थाली भाषा कक्षा सञ्चालन, विद्यालयको पूर्ण सहयोग रहने

सिर्जन मिडिया
२०८३/०३/२७
View Updating
लाइभ: १२ पढ्दैछन्
गौरीगञ्ज–१ स्थित इन्द्रेणी आधारभूत विद्यालयमा सन्थाली भाषा कक्षा सञ्चालन, विद्यालयको पूर्ण सहयोग रहने

असार २७ । शिबु मुर्मु ।झापा, गौरीगञ्ज।

झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारास्थित इन्द्रेणी आधारभूत विद्यालयमा सन्थाली भाषा पठनपाठन सञ्चालन भइरहेको पुष्टि भएपछि विद्यालय प्रशासनले यस कार्यलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

विद्यालयका प्रधानाध्यापक शिव कुमार मैनालीले करिब १५/१६ वर्षअघि विद्यालयमा सन्थाली भाषा पठनपाठन सुरु गर्ने प्रयास गर्दै आवश्यक पुस्तकसमेत ल्याए पनि विभिन्न कारणले सफल हुन नसकेको स्मरण गरे ।

शुक्रबार बिहान प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र निर्माण तथा विद्यार्थी पोर्टफोलियो मूल्याङ्कनका लागि विद्यालय पुगेका प्रधानाध्यापकले विद्यालय परिसरमै सन्थाली भाषा कक्षा सञ्चालन भइरहेको देखेपछि अत्यन्तै खुसी व्यक्त गरे ।

उनका अनुसार, एक समय विद्यालयमै कक्षा १/२ मा अध्ययन गरेका पूर्वविद्यार्थी श्याम हेमरम हाल इन्जिनियरिङ अध्ययनसँगै आफ्नै मातृभाषा संरक्षण र प्रवर्द्धनका लागि स्वयंसेवी सहजकर्ताका रूपमा सन्थाली भाषाको लेखन तथा पठनपाठन गराइरहेका छन् । सहजकर्ताका अनुसार जम्मा सहभागी ३४ जना विद्यार्थी रहेका छन् भने हालसम्म ३ कक्षा पढाइ सकेको र सन्थाली भाषा ओल चिकी लिपि पढाई हुँदै आएको बताएका छन् ।

यस कार्यको प्रशंसा गर्दै विद्यालयले सन्थाली भाषा कक्षालाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने घोषणा गरेको छ । विद्यालयले सिकाइमा सहभागी विद्यार्थीका लागि आवश्यक स्टेशनरी सामग्री, सहजकर्ताका लागि पठनपाठनमा आवश्यक शैक्षिक सामग्री तथा खाजा भत्ताको व्यवस्था गर्ने जनाएको छ ।

विद्यालय प्रशासनले मातृभाषा संरक्षण र प्रवर्द्धनका लागि गरिएको यो प्रयास अनुकरणीय रहेको उल्लेख गर्दै भविष्यमा पनि आवश्यक सहयोग र सहकार्य गर्न सधैँ तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रधानाध्यापकले सहजकर्ता श्याम हेमरमलाई सफलताको शुभकामना दिँदै यस अभियानले दीर्घकालीन निरन्तरता पाओस् भन्ने कामना गरेका छन् ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्