मनसुनी प्रभाव कायम: कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

असार ३० । अनिता हास्दा । झापा
हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कोशी, बागमती र गण्डकीको तराई र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा राति पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय लगायतका विपद्को जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागको पछिल्लो मौसम सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
