असार १६–१७ मा देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

झापा । देशभर मनसुन थप सक्रिय बन्दै गएपछि आगामी असार १६ र १७ गते अधिकांश क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आइतबार साँझ जारी गरेको विशेष मौसम बुलेटिनअनुसार मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मुसलधारे वर्षा हुने सम्भावना छ। केही स्थानमा अत्यधिक वर्षा पनि हुन सक्ने जनाइएको छ।
देशका पहाडी र तराईका अधिकांश तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले मनसुन देशभर थप फैलिने मौसमविद्ले बताएका छन्।
भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय, गेग्र्यान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी तथा खोला आसपास बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस्तै, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक पूर्वतयारी गर्न मौसम महाशाखाले अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
