बिर्तामोडको हनुमान सेन्ट्रलमा किशोरीमाथि जबरजस्ती, आरोपी पक्राउ

झापा । झापाको बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा इलामका एक पुरुष पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका–२, पशुपतिनगर स्थायी घर भई हाल बिर्तामोडको सुब्बाचोकमा दिदी–भिनाजुको घरमा बस्दै आएका ३६ वर्षीय बिगेन्द्र शेर्पा रहेका छन्।
प्रहरीका अनुसार शनिबार राति करिब ९ बजेतिर हनुमान सेन्ट्रलमा अन्दाजी १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरी आरोपी फरार भएका थिए। घटनापछि पीडित किशोरीले राति करिब ११ बजे इलाका प्रहरी कार्यालय अनारमनीमा मौखिक जानकारी गराएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो।
प्रहरी टोलीले आइतबार बिहान करिब १०:४५ बजे बिर्तामोडबाट शेर्पालाई पक्राउ गरेको हो। पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उता, पीडित किशोरीलाई आइतबार बिहान करिब ३ बजे बिर्तामोड–५ स्थित क्षितिज महिला समाज पुनर्स्थापना केन्द्र मा सुरक्षित रूपमा राखिएको प्रहरीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
