हल्दीबारीको मानवीय पहल : अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री वितरण

झापा, हल्दीबारी । “हल्दीबारीको दृष्टि : कृषि र पर्यटनमार्फत समृद्धि” भन्ने मूल नारासहित अघि बढिरहेको हल्दीबारी गाउँपालिका ले भौतिक विकाससँगै मानवीय सेवामा पनि विशेष ध्यान दिएको छ। गाउँपालिकाले शारीरिक रूपमा अपाङ्गता भएका नागरिकहरूलाई आवश्यक सहायक सामग्री वितरण गर्दै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको हो।
गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन को अध्यक्षतामा आयोजित कार्यक्रममा करिब ५ लाख २५ हजार रुपैयाँ बराबरका विभिन्न सहायक सामग्री वितरण गरिएको थियो। उक्त कार्यक्रम गाउँपालिकाको आयोजना तथा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, करुणा फाउण्डेशन र राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश को सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रमअन्तर्गत ९ जनालाई श्रवण यन्त्र, ८ जनालाई ह्वीलचियर, १० जनालाई छडी, ७ जनालाई शौचालय कुर्सी तथा २ जनालाई विशेष जुत्ता वितरण गरिएको थियो। साथै, घाँटीको समस्याबाट पीडित १ जनालाई ‘नेक कलर’, २ जनालाई वाकर, २ जनालाई सीपी ह्वीलचियर, २ जनालाई उभिने फ्रेम तथा ३ जनालाई वैशाखी उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।
त्यसैगरी, पूर्ण अशक्त तथा अति अशक्त नागरिकहरूको आवश्यकतालाई ध्यानमा राख्दै २१ थान डाइपर, ७१ थान सेनेटरी प्याड र ८ वटा फस्ट एड ब्याग समेत वितरण गरिएको थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन तथा वडा नं. २ का अध्यक्ष शुक्लाल राजवंशी लगायतले सामाजिक सुरक्षा र समावेशी विकासका क्षेत्रमा गाउँपालिकाले गरेका प्रयासहरूको प्रशंसा गरेका थिए।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगर ले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, अपाङ्गता भएका व्यक्तिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सामग्री प्राप्त गरेपछि सेवाग्राही तथा उनीहरूका अभिभावकले गाउँपालिकाको कार्यप्रति खुसी व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
