आयल निगमको पार्किङबाटै पेट्रोल बोकेको ट्याङ्कर चोरी, सुनसरीमा बेवारिसे अवस्थामा फेला

झापा । विराटनगरस्थित नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालयको पार्किङ क्षेत्रबाटै पेट्रोल बोकेको ट्याङ्कर चोरी भएको घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।
नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरको ट्याङ्कर भारतको सिलीगुढीबाट २० हजार लिटर पेट्रोलियम पदार्थ बोकेर आइतबार साँझ निगमको पार्किङमा राखिएको थियो। तर सोमबार बिहान उक्त ट्याङ्कर पार्किङबाट हराएको थाहा पाएपछि खोजी सुरु गरिएको थियो।
खोजतलासका क्रममा ट्याङ्कर सुनसरीको बर्जु गाउँपालिका क्षेत्रमा पर्ने हुलाकी सडक खण्डमा बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले ट्याङ्करलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
ट्याङ्कर धनी नवीन कर्णका अनुसार प्रारम्भिक जाँचमा ट्याङ्करबाट करिब १ हजारदेखि १ हजार २ सय लिटर पेट्रोलियम पदार्थ कम देखिएको छ। यद्यपि, ट्याङ्कर रहेको स्थान भिरालो भएकाले यकिन परिमाण भने मुचुल्का उठाएर डिपोमा पुनः परीक्षण गरेपछि मात्र थाहा हुने उनले बताए।
घटनाको समयमा चालकसहित सम्बन्धित कर्मचारीहरू आयल निगममा तालिममा सहभागी रहेको मौका छोपेर चोरी गरिएको हुन सक्ने अनुमान गरिएको छ।
प्रहरीका अनुसार घटनाबारे मोरङ र सुनसरी प्रहरीको समन्वयमा अनुसन्धान भइरहेको छ। ट्याङ्कर कसले, किन र कसरी चोरी गर्यो भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको छ।
नेपाल आयल निगमको परिसरबाटै पेट्रोल बोकेको ट्याङ्कर चोरी हुनु सुरक्षा संवेदनशील घटनाका रूपमा हेरिएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
