सुनसरीमा डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीका सईको मृत्यु, पत्नी घाइते

सिर्जन मिडिया
२०८३/०३/०९
View Updating
लाइभ: १२ पढ्दैछन्
सुनसरीमा डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीका सईको मृत्यु, पत्नी घाइते

झापा । सुनसरीको बर्जु गाउँपालिका–६ नरह चोकस्थित हुलाकी राजमार्गमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (सई) लालकुमार यादवको मृत्यु भएको छ भने उनकी पत्नी रामपरी यादव घाइते भएकी छन्।

प्रहरीका अनुसार विराटनगरबाट चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका–१ निवासी करिब ५० वर्षीय सई यादव गम्भीर घाइते भएका थिए। उनलाई तत्काल विराटनगरस्थित विराट नर्सिङ होम लगिएको भए पनि उपचारकै क्रममा दिउँसो ४:१६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार उनकी ४७ वर्षीया पत्नी रामपरी यादव घाइते भएकी छन्। उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको बताइएको छ।

प्रहरीका अनुसार दुर्घटनालगत्तै मोटरसाइकलमा आगलागीसमेत भएको थियो, जसलाई स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। ठक्करपछि अनियन्त्रित बनेको कार विपरीत लेनमा पुगेर दुर्घटनाग्रस्त भएको र कारको अगाडिको भागमा क्षति पुगेको छ।

दुर्घटनामा संलग्न मोरङको कटहरी गाउँपालिका–३ निवासी करिब ५० वर्षीय डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी रेडियोलोजिस्ट तथा नेपाल मेडिकल एसोसिएसन विराटनगर शाखाका अध्यक्षसमेत हुन्। प्रारम्भिक अनुसन्धानअनुसार उनी चिमडी बजारमा एक्स–रे सेवा दिन जाँदै गर्दा दुर्घटना भएको देखिएको छ।

सई यादव यसअघि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थिए। उनी आफ्नो दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका लागि असार ६ गते रवाना लिएर गएको खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्