हल्दीबारीमा श्रीमतीको हत्या, श्रीमान पक्राउ

हल्दीबारी (झापा)। हल्दीबारी गाउँपालिका–५ धनुषपोखरी क्षेत्रमा मंगलबार राति भएको घरेलु विवाद हिंसात्मक बन्दा एक महिलाको ज्यान गएको छ। श्रीमानले धारिलो दाउ प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका हुन्।
स्थानीयका अनुसार सामान्य विवादले उग्र रूप लिएपछि ३३ वर्षीया उर्मिला भण्डारीको टाउकोमा दाउ प्रहार हुँदा घटनास्थलमै उनको मृत्यु भएको हो। घटनामा संलग्न भनिएका उनका श्रीमान गोकर्ण भण्डारी (गणेश)लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी तथा स्थानीय जनप्रतिनिधिका अनुसार भण्डारी दम्पतीबीच लामो समयदेखि घरेलु विवाद हुँदै आएको थियो। मंगलबार राति करिब ९ बजे गोकर्ण मादक पदार्थ सेवन गरेर घर फर्किएको र त्यसपछि विवाद चर्किँदा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
हत्या पछि आरोपी आफैं घटनास्थलबाट करिब एक किलोमिटर टाढा पुगेर आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरेको र त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । मृतकका एक छोरा र एक छोरी नाबालक रहेका छन्। आमाको मृत्यु र बुबा प्रहरी नियन्त्रणमा परेपछि उनीहरू बिचल्लीमा परेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
