भद्रपुर–७ मा सन्थाल समुदायको एरग् पूजा सम्पन्न

भद्रपुर, जेठ ९ । सन्थाल समुदायको परम्परागत तथा धार्मिक महत्त्व बोकेको एरग् पूजा (एरग् पर्व) शुक्रबार भद्रपुर नगरपालिका–७ स्थित भाङगाछीमा श्रद्धा र उत्साहका साथ सम्पन्न भएको छ।
नेपाल सन्थाल आदिवासी उत्थान सङ्घ, भद्रपुर नगरपालिका–७ वडा समिति को आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय सन्थाल समुदायका ज्येष्ठ नागरिक, अगुवा, महिला, युवा तथा बालबालिकाको उल्लेखनीय सहभागिता रहेको थियो।
सङ्घका प्रतिनिधि सुमन हेमरमका अनुसार, धान रोपाइँ सुरु गर्नुअघि मनाइने एरग् पूजा सन्थाल समुदायको अत्यन्तै महत्त्वपूर्ण कृषि तथा धार्मिक पर्व हो। यस पर्वले राम्रो वर्षा, उर्वर भूमि, बालीको संरक्षण तथा समृद्ध उत्पादनको कामना गर्ने परम्परा बोकेको उनले बताए।
उनका अनुसार पूजा सम्पन्न नभएसम्म नयाँ खेतीपाती सुरु नगर्ने परम्परा अझै पनि समुदायमा कायम छ, जसले प्रकृति र कृषिप्रतिको गहिरो सम्मान झल्काउँछ।
कार्यक्रममा परम्परागत विधिअनुसार नायके (धार्मिक अगुवा) द्वारा पूजा–अर्चना सम्पन्न गरिएको थियो। पूजा पश्चात सहभागीहरूले एक–आपसमा शुभकामना आदानप्रदान गर्दै सांस्कृतिक एकता र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने सन्देश दिएका थिए।
सहभागीहरूले एरग् पूजा सन्थाल समुदायको पहिचान, संस्कृति र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको पर्व भएको उल्लेख गर्दै यस्ता परम्परागत अभ्यासको संरक्षण आवश्यक रहेको बताएका थिए।
आयोजक संस्थाले सन्थाल समुदायको भाषा, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सन्थाल समुदायले प्रत्येक वर्ष धान रोपाइँअघि मनाउने एरग् पूजाले कृषि कर्मप्रतिको सम्मान, प्रकृतिसँगको सम्बन्ध र सामुदायिक सद्भावलाई जीवन्त राख्दै आएको छ। यस वर्षको कार्यक्रम पनि भाङगाछीमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
