हल्दीबारीमा तीन दिवसीय अचार बनाउने तालिम सम्पन्न, सहभागीलाई आत्मनिर्भर बन्न आग्रह

हल्दीबारी, झापा । अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले हल्दीबारी गाउँपालिका–४ मा आयोजित तीन दिवसीय अचार बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
हल्दीबारी गाउँपालिका वडा नम्बर ४ को ५० हजार रुपैयाँ सिलिङ बजेटको आर्थिक सहयोग तथा हल्दीबारी अपाङ्गता स्वावलम्बन संस्थाको आयोजनामा जेठ ५ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको उक्त तालिममा अपाङ्गता भएका व्यक्ति, पाथिभरा मिलिजुली समूहका सदस्य तथा उनीहरूका परिवारको उत्साहजनक सहभागिता रहेको थियो।
तालिमको समापन समारोह गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष लालबहादुर सावाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा तालिम सफलतापूर्वक पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष मैनालीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी स्वरोजगार तथा आयआर्जनको माध्यम बनाउन सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले स्थानीय तहले सीप विकासका यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरणमा सहयोग पुर्याउने बताउनुभयो।
कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष सन्तकुमार थापा, वडा सदस्य सुरेन्द्र बारकोटी, प्रशिक्षक दुर्गा ओली तथा प्रशिक्षार्थी रेणुका सुवेदी लगायतले तालिमको महत्त्व, घरेलु उद्यममार्फत आम्दानी वृद्धि गर्ने सम्भावना तथा उत्पादित सामग्रीको प्रभावकारी बजारीकरणका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए।
तालिमको विशेष आकर्षणका रूपमा सहभागीहरूले आफ्नै हातले तयार पारेका विभिन्न प्रकारका अचार प्रमुख अतिथि तथा उपस्थित अतिथिहरूलाई उपहारस्वरूप प्रदान गरेका थिए। यसले तालिमबाट प्राप्त सीपलाई व्यवहारिक रूपमा प्रदर्शन गर्नुका साथै सहभागीहरूको आत्मविश्वास पनि बढाएको आयोजकले जनाएको छ।
संस्थाका कोषाध्यक्ष दिलकुमार राजवंशीले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव राम टुडुले गर्नुभएको थियो।
समापन कार्यक्रममा कार्यपालिका सदस्य भावना दाहाल, वडाका कर्मचारी, संस्थाका पदाधिकारी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
आयोजकका अनुसार यस्ता सीपमूलक तालिमले अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारलाई आत्मनिर्भर बनाउन, घरेलु उद्यमको विकास गर्न तथा स्थानीय स्तरमै आयआर्जनका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
