नारायणहिटी हत्याकाण्डको २५ वर्ष: रहस्य, पीडा र अनुत्तरित प्रश्नहरू अझै जीवित

सिर्जन मिडिया
२०८३/०२/१९
View Updating
लाइभ: १२ पढ्दैछन्
नारायणहिटी हत्याकाण्डको २५ वर्ष: रहस्य, पीडा र अनुत्तरित प्रश्नहरू अझै जीवित

झापा । नेपालको इतिहासमा गहिरो घाउ छोडेको नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ। वि.सं. २०५८ साल जेठ १९ गते राति पारिवारिक जमघटका क्रममा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायत राजपरिवारका सदस्यहरूको ज्यान गएको थियो। उक्त घटनाले देशलाई स्तब्ध बनाएको थियो भने आज पनि त्यसको वास्तविकता पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन।

घटनापछि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले सार्वजनिक गरेको प्रतिवेदनमा युवराज दीपेन्द्रले नै राजपरिवारका सदस्यमाथि गोली प्रहार गरी अन्ततः आफूलाई पनि गोली हानेको निष्कर्ष निकालिएको थियो। तर उक्त निष्कर्षप्रति आमनागरिकको ठूलो हिस्सा आजसम्म विश्वस्त हुन सकेको छैन।

समयसँगै नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भयो, २४० वर्ष लामो राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भयो। तर दरबार हत्याकाण्डको रहस्य भने उस्तै रह्यो। विभिन्न सरकार र प्रधानमन्त्रीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै नयाँ अनुसन्धान वा ठोस तथ्य बाहिर आउन सकेको छैन।

राजतन्त्रको अन्त्यपछि नरसंहारको साक्षी बनेको नारायणहिटी राजदरबारलाई संग्रहालयमा रूपान्तरण गरिएको छ। वि.सं. २०६५ माघ १६ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको नारायणहिटी दरबार संग्रहालय अहिले देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक बनेको छ।

काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरू इतिहासप्रतिको जिज्ञासा र कौतुहलताले संग्रहालय पुग्ने गरेका छन्। लाखौँ आगन्तुकले अवलोकन गरिसकेको यस स्थलमा पुग्ने अधिकांशको मनमा भने एउटै प्रश्न अझै जीवित छ— ‘जेठ १९ को त्यो रात वास्तवमा गोली कसले चलायो?’

२५ वर्ष बितिसक्दा पनि नारायणहिटी दरबार हत्याकाण्ड नेपाली इतिहासको सबैभन्दा रहस्यमय घटनामध्ये एकका रूपमा स्मरण भइरहेको छ, जसको पूर्ण सत्य उजागर हुने प्रतीक्षा अझै समाप्त भएको छैन।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्