चारपानेमा महिलामाथि कालो मोसो दलेको आरोपमा ४ जना पक्राउ

झापा, जेष्ठ ३० — झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा एक महिलामाथि कालो मोसो दलेको आरोपमा ४ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असार २९ गते साँझ करिब ५:३० बजे चारपानेस्थित राजगढ जाने बाटोमा स्थानीय महिला सविना राजवंशीमाथि कालो मोसो दलेको सूचना प्राप्त भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो।
प्रहरीका अनुसार पुरानो रिसइबीका कारण सविना राजवंशीलाई बिजुलीको पोलमा हात बाँधी कालो मोसो दलेको आरोपमा ४ जनालाई नियन्त्रणमा लिइएको हो। घटनामा संलग्न रहेको आरोपमा कनकाई नगरपालिका–८ निवासी २० वर्षीया सविना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु, १८ वर्षीय समिर मर्डी १९ वर्षीया पूजा बस्नेत पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट कालो मोसो भएको एक बोतल तथा विभिन्न प्लेकार्ड १६ थान बरामद गरेको जनाएको छ। पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको छ।
उक्त घटनामा पीडित सविना राजवंशीको बिर्तासिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनाले सामाजिक सञ्जाल तथा स्थानीय समुदायमा चासोको विषय बनेको छ। प्रहरीले कानुन हातमा नलिन र कुनै पनि विवाद कानुनी प्रक्रियामार्फत समाधान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
तस्बिर: Ai

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
