४० हजार वैदेशिक रोजगार ठगी मुद्दा डिजिटल प्रणालीमा, पुराना अभिलेख पुनर्निर्माण तीव्र

झापा । वैदेशिक रोजगार ठगीसँग सम्बन्धित वर्षौंदेखि कागजी फाइलमा थन्किएका ४० हजारभन्दा बढी मुद्दालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने कार्यलाई वैदेशिक रोजगार विभागले तीव्र बनाएको छ। २०६४ सालदेखि दर्ता भएका मुद्दाहरूलाई व्यवस्थित अभिलेखीकरण गरी विद्युतीय प्रणालीमा सुरक्षित राख्ने अभियान सञ्चालन भइरहेको विभागले जनाएको छ।
विभागका अनुसार पुराना फाइलहरूको खोजी, वर्गीकरण, स्क्यानिङ तथा आवश्यक विवरण प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको छ। हालसम्म १० हजारभन्दा बढी मुद्दाका फाइल डिजिटल प्रणालीमा समावेश गरिसकिएको छ भने बाँकी अभिलेखहरू क्रमशः रूपान्तरण भइरहेका छन्।
विभागका प्रवक्ता तथा सूचना अधिकारी बिन्दा आचार्य ले डिजिटल अभिलेखीकरणले अनुसन्धान, कानुनी प्रक्रिया र मुद्दा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने बताइन्। उनका अनुसार आवश्यक विवरण छिटो प्राप्त हुने भएकाले अदालतमा मुद्दा पेश गर्ने प्रक्रिया पनि सहज हुनेछ।
गत वर्षको आन्दोलनका क्रममा विभागमा भएको तोडफोड र आगजनीबाट पुराना मुद्दाका डिजिटल अभिलेख सुरक्षित राखिएको उपकरण नष्ट भएपछि अभिलेख पुनर्निर्माणको आवश्यकता परेको थियो। त्यसपछि विभागले पुनः फाइल स्क्यान गरी डिजिटल रेकर्ड तयार गर्ने काम अघि बढाएको हो।
विभागले आगामी छ महिनाभित्र पुराना मुद्दाहरूको डिजिटल व्यवस्थापन सम्पन्न गर्ने लक्ष्य राखेको छ। यसका लागि अतिरिक्त जनशक्ति परिचालन गरिएको जनाइएको छ।
यता, युवा, श्रम तथा रोजगार मन्त्रालय ले वैदेशिक रोजगार क्षेत्रमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउन पुराना मुद्दाको छिटो फर्छ्योट तथा पीडितलाई न्याय दिलाउने प्रयासलाई प्राथमिकतामा राखेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
