विश्वभर विश्वकपको ज्वरो, फुटबल महाकुम्भ आजदेखि सुरु

झापा । विश्वकै सर्वाधिक लोकप्रिय खेल फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप आजदेखि सुरु हुँदैछ। अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुन लागेको यो विश्वकप इतिहासमै पहिलो पटक तीन राष्ट्रले आयोजना गरेको संस्करण हो।
यसपटक प्रतियोगितामा ४८ राष्ट्र सहभागी छन् भने कुल १०४ खेल खेलिनेछन्। उद्घाटन खेल मेक्सिकोको एस्टाडियो एज्टेका रंगशालामा हुनेछ भने फाइनल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आयोजना गरिनेछ।
विश्वकपलाई विश्वको सबैभन्दा धेरै हेरिने खेल प्रतियोगिता मानिन्छ। विश्वभरका करोडौँ फुटबल समर्थक अहिले आ-आफ्ना मनपर्ने टोली र खेलाडीको समर्थनमा उत्साहित बनेका छन्। नेपालमा समेत विश्वकपको माहोल बढ्दै गएको छ।
उपाधिका प्रमुख दाबेदारका रूपमा स्पेन, फ्रान्स, अर्जेन्टिना, इङ्ग्ल्यान्ड, ब्राजिल, जर्मनी र पोर्चुगललाई हेरिएको छ। साथै लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको सम्भावित अन्तिम विश्वकप भएकाले यस संस्करणले विशेष चर्चा बटुल्ने अपेक्षा गरिएको छ।
यस विश्वकपका लागि फिफाले ६५५ मिलियन अमेरिकी डलर पुरस्कार राशि घोषणा गरेको छ, जसमा विजेता टोलीले ५० मिलियन डलर प्राप्त गर्नेछ।
फुटबलप्रेमीहरूका लागि अब आगामी एक महिना रोमाञ्च, प्रतिस्पर्धा र उत्सवले भरिएको विश्वकप पर्व सुरु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
