२४ घण्टामा देशभरका सवारी दुर्घटनामा ११ जनाको मृत्यु, १२७ घाइते

झापा ।पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न प्रदेशमा भएका सडक दुर्घटनाले मानवीय क्षति बढ्दो क्रममा रहेको देखिएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमध्ये लुम्बिनी प्रदेशमा तीन जना, काठमाडौँ उपत्यकामा तीन जना, गण्डकी प्रदेशमा दुई जना, बागमती प्रदेशमा एक जना तथा कोशी प्रदेशमा दुई जना रहेका छन्। ती दुर्घटनाहरू विभिन्न प्रकारका सवारी साधन एकआपसमा ठोक्किने, अनियन्त्रित भई सडकबाट तल खस्ने तथा पैदलयात्रीलाई ठक्कर दिने घटनासँग सम्बन्धित रहेको जनाइएको छ।
त्यसैगरी, दुर्घटनामा परी देशभर १२७ जना घाइते भएका छन्। घाइतेमध्ये काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ३९ जना रहेका छन्। यस्तै, कोशी प्रदेशमा ३८ जना, मधेस प्रदेशमा १६ जना, बागमती प्रदेशमा १२ जना, लुम्बिनी प्रदेशमा १० जना तथा सुदूरपश्चिम प्रदेशमा ६ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले तीव्र गति, लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति, ट्राफिक नियमको उल्लङ्घन तथा सडकको अवस्थाजस्ता कारणले दुर्घटनाका घटना बढिरहेको जनाएको छ। सवारी चालक तथा यात्रुहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, सुरक्षित यात्रा गर्न तथा सचेत रहन आग्रह गरिएको छ।
सडक दुर्घटनाका घटनाले पछिल्लो समय गम्भीर चिन्ताको विषय बनेको भन्दै सम्बन्धित निकायले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
