
झापा । सरकारले चालु आर्थिक वर्षमा रासायनिक मल आपूर्तिलाई अहिलेसम्मकै उच्च स्तरमा पुर्याएको जनाएको छ।
प्रतिनिधिसभाको शून्य र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी ले हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन मल आपूर्ति भइसकेको जानकारी दिइन्। यसमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई बिक्री भइसकेको छ।
उनका अनुसार हाल गोदाममा रहेको र आयात प्रक्रियामा रहेको गरी करिब १ लाख ४० हजार ५८५ मेट्रिक टन मल मौज्दातमा छ। चालु आर्थिक वर्षको अन्त्यसम्म करिब ५ लाख मेट्रिक टन मल अनुदानमा वितरण गर्ने लक्ष्य सरकारले लिएको छ।
मन्त्रीले मध्यपूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मल उत्पादन र आपूर्तिमा दबाब परेको बताउँदै त्यसको असर नेपालमा पनि परेको स्वीकार गरिन्। यद्यपि, धान रोपाइँको समयमा मलको अभाव हुन नदिन सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ।
उनले आगामी आर्थिक वर्षका लागि आवश्यक मल आपूर्तिको सम्झौता भइसकेको र अझै करिब १ लाख ८७ हजार मेट्रिक टन मल आउन बाँकी रहेको पनि जानकारी दिइन्। आपूर्तिकर्ता कम्पनीहरूलाई समयमै मल पठाउन निरन्तर ताकेता भइरहेको मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
