हल्दीबारी अपाङ्गता स्वावलम्बन संस्थाको दोस्रो वार्षिक साधारण सभा तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

झापा — हल्दीबारी अपाङ्गता स्वावलम्बन संस्थाको दोस्रो वार्षिक साधारण सभा तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष लाल बहादुर कन्दङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा विभिन्न समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र) रहेका थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा हल्दीबारी वडा अध्यक्ष शुकलाल राजवंशी सहभागी भएका थिए।
कार्यक्रममा अतिथिका रूपमा हल्दीबारी गाउँपालिकाकी सहकारी प्रमुख कविता कर्ण, महिला, बालबालिका तथा ज्येष्ठ शाखा प्रमुख तृष्णा थापा मगर, एकता बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष हरि कृष्ण अधिकारी तथा झापा गाउँपालिकाका सिविआर एफओ प्रकाश गणेशको उपस्थिति रहेको थियो।
कार्यक्रम व्यवस्थापनको जिम्मेवारी हल्दीबारीका सिविआरएफ शिबु मुर्मु र बलराम बनले सम्हालेका थिए। कार्यक्रममा हल्दीबारी गाउँपालिकाका पाँचवटै वडाका मिलिजुली समूहका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
वार्षिक साधारण सभा तथा समीक्षा कार्यक्रममा संस्थाको वार्षिक गतिविधि र आगामी योजनामाथि छलफल गरिएको थियो। कार्यक्रममा संस्थाकी उपाध्यक्ष हरिमाया मिश्रले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष दिल कुमार राजवंशीले प्रस्तुत गरेका थिए।
कार्यक्रम सञ्चालन संस्थाका सचिव राम प्रसाद टुडुले गरेका थिए। कार्यक्रममा संस्थाको संस्थागत सुदृढीकरण, अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास तथा सामाजिक–आर्थिक सशक्तीकरणमा आगामी दिनमा थप प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
