काठमाडौंमा घरायसी विवादको दुःखद अन्त्य : ‘नेपाली ब्रो’ भनिने कुमार थापाद्वारा श्रीमतीको हत्या

झापा । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा एक महिलाको हत्या भएको छ। प्रहरीले दिएको जानकारी अनुसार सोही स्थानका ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए।
शुक्रबार राति करिब १०:१० बजे भएको घटनामा गम्भीर घाइते भएकी भुजेललाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार श्रीमान्–श्रीमतीबीच भएको विवाद उग्र बन्दै जाँदा कुमार थापाले फलामको रड प्रयोग गरी आक्रमण गरेका थिए। घटनापछि प्रहरीले थापालाई नियन्त्रणमा लिई पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामबाट परिचित थापालाई हाल प्रहरी वृत्त बालाजुमा राखिएको छ। घटनाको कारण, पृष्ठभूमि तथा अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
यस घटनाले फेरि एकपटक घरायसी विवादको समाधान संवाद र कानुनी प्रक्रियाबाट खोज्नुपर्ने आवश्यकता उजागर गरेको छ। एक क्षणको आवेग र हिंसात्मक व्यवहारले एउटा परिवारमा अपूरणीय क्षति पुगेको छ भने घटनाले स्थानीय समुदायलाई समेत स्तब्ध बनाएको छ।
प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान जारी रहेको र कानुन बमोजिम प्रक्रिया अगाडि बढाइने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
