भारतबाट फरार युवक विराटनगरमा मृत फेला, प्रहरीले चार भारतीयलाई नियन्त्रणमा लियो

सिर्जन मिडिया
२०८३/०२/३१
View Updating
लाइभ: १२ पढ्दैछन्
भारतबाट फरार युवक विराटनगरमा मृत फेला, प्रहरीले चार भारतीयलाई नियन्त्रणमा लियो

झापा । मोरङको विराटनगरस्थित एक होटलमा भारतका एक युवकको शंकास्पद अवस्थामा मृत्यु भएपछि प्रहरीले घटनाको गहन अनुसन्धान सुरु गरेको छ। घटनासँग सम्बन्धित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

मृतक भारतको बिहार राज्य, सहरसा जिल्लाका २४ वर्षीय प्रिन्स यादव रहेको मोरङ प्रहरीले जनाएको छ। उनी विराटनगर–१० स्थित शुभ होटलमा बस्दै आएका थिए। शनिबार राति अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उनीसँगै रहेका व्यक्तिहरूले उपचारका लागि न्युरो अस्पताल पुर्‍याएका थिए। अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार मृतकको शरीरमा सामान्य चोटपटक देखिएकाले घटनालाई शंकास्पद मानेर विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। शवको पोस्टमार्टम कोशी अस्पतालमा गरिएको छ भने रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा मृतक भारतमा दर्ता भएको एक आपराधिक मुद्दाका फरार प्रतिवादी रहेको खुलेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनीमाथि बिहारमा चर्चित शिक्षक खान सरसँग सम्बन्धित विवाद तथा शैक्षिक संस्थामा भएको तोडफोड घटनामा संलग्न रहेको आरोपमा मुद्दा दर्ता भएको थियो।

घटनापछि प्रहरीले मृतकसँगै होटलमा बसिरहेका चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि घटनाका विभिन्न पक्षबारे अनुसन्धान तथा सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले आत्महत्या, प्राकृतिक मृत्यु, लागुऔषधको अत्यधिक सेवन वा अन्य आपराधिक कारणमध्ये कुनै पनि सम्भावनालाई नकार्न नसकिने बताएको छ। पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा मात्रै घटनाको वास्तविकता सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्