नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउनुपर्ने रविको धारणा

झापा ।भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले नेपाल–भारत सम्बन्धलाई नयाँ दृष्टिकोणबाट अघि बढाउनुपर्ने बताएका छन्। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत उनले नेपाल र भारतलाई केवल छिमेकी राष्ट्रका रूपमा नभई साझा इतिहास, संस्कृति र सभ्यताले जोडिएका देशका रूपमा चित्रण गरेका हुन्।
लामिछानेले जनकपुर–अयोध्या र पशुपतिनाथ–केदारनाथको उदाहरण दिँदै दुई देशबीचको सम्बन्ध राजनीतिक सीमाभन्दा धेरै गहिरो रहेको उल्लेख गरेका छन्। उनका अनुसार विगतका विवाद र पुराना मनमुटावमा अल्झिरहनुभन्दा भविष्यका सम्भावनामा केन्द्रित हुनु आवश्यक छ।
उनले नेपालले आफ्नो विदेश नीतिलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै नयाँ पुस्ता पुराना शत्रुता वा अपारदर्शी समझदारीको बोझबाट मुक्त रहेको बताएका छन्। नेपाल र भारतबीचको सम्बन्ध पारदर्शिता, पारस्परिक सम्मान र जनस्तरको विश्वासका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ छ।
लेखमा उनले नेपालका कमजोरीहरू स्वीकार्दै आत्मसन्तुष्टिमा रमाउन नसकिने स्पष्ट पारेका छन्। दुई देशबीचको सम्बन्धले अहिलेसम्म के उपलब्धि हासिल गर्यो भन्नेभन्दा पनि आगामी दिनमा के सम्भव छ भन्ने विषयमा ध्यान दिनुपर्ने उनको जोड छ।
रवि लामिछाने हाल पाँचदिने भारत भ्रमणमा छन्। भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
