मार्शाल डाहार सन्थाल समाज कमल–२ द्वारा सन्थाली कविता प्रतियोगिता २०८३ सम्पन्न, विजेतालाई प्रमाण–पत्र वितरण

झापा, कमल । सन्थाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले झापाको कमल गाउँपालिका–२ स्थित मार्शाल डाहार सन्थाल समाजद्वारा आयोजित सन्थाली कविता प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाण–पत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी कविहरूले आफ्नो साहित्यिक प्रतिभा, सिर्जनशील अभिव्यक्ति तथा सन्थाली भाषा र संस्कृतिप्रतिको प्रतिबद्धता प्रस्तुत गरेका थिए। प्रतियोगितामा कुल १८ जना प्रतियोगी सहभागी भएका थिए।
प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षक सूर्य नारायण हाँस्दा, बडाराम हेम्ब्रम, डिबीलाल मार्डी र रामचन्द्र बेस्रा रहनुभएको थियो।
नतिजाअनुसार प्रथम स्थान मोरङ उर्लाबारी–८ का बुद्धिलाल सोरेन ले हासिल गर्दै नगद रु. १० हजार, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नुभयो। दोस्रो स्थान मोरङ धनपालथान–६ की सुनिता टुडु ले नगद रु. ७ हजार, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नुभयो भने तेस्रो स्थान मोरङ रंगेली–१ का बाजुन मुर्मु ले नगद रु. ५ हजार, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नुभयो।
त्यसैगरी सान्त्वना पुरस्कारतर्फ शिवसताक्षी–२ की सविता मार्डी, भद्रपुर–३ की सरिता मुर्मु, शिवसताक्षी–२ का सामसन सोरेन, रंगेली–४ का सोनेलाल किस्कु तथा उर्लाबारी–८ की सुनिता किस्कु लाई जनही रु. ५०० सहित प्रमाण–पत्र प्रदान गरिएको थियो।
कार्यक्रमका अध्यक्ष खरा सोरेन रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा संविधानसभा सदस्य तथा अन्तर्राष्ट्रिय सन्थाल परिषद्का उपाध्यक्ष मा. मोहन टुडु को उपस्थिति रहेको थियो। विशेष अतिथिमा नेपाल सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय तथा जिल्ला पदाधिकारीहरू, विभिन्न क्षेत्रका प्रतिनिधि, साहित्यप्रेमी, समाजसेवी तथा स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सन्थाली भाषा, लिपि, साहित्य तथा संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई मातृभाषाप्रति आकर्षित गराउने विषयमा विशेष जोड दिइएको थियो। आयोजकले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमको सञ्चालन महेश मुर्मु ले गर्नुभएको थियो भने अन्त्यमा संयोजक, अतिथिहरू तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
