मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना, झापाका २८ वर्षीय युवकको मृत्यु

झापा । मोरङको रतुवामाई नगरपालिका–४ भद्रचोक नजिक हुलाकी सडकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा झापाको गौरीगञ्ज गाउँपालिका–६ आठमोजा निवासी २८ वर्षीय वरुणकुमार राजवंशी रहेका छन्।
मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेका अनुसार विराटनगरबाट गौरीगञ्जतर्फ जाँदै गरेको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल राति करिब १०ः३५ बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएका कारण मोटरसाइकलको नियन्त्रण गुमाउँदा दुर्घटना भएको देखिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई तत्काल उद्धार गरी रतुवामाई नगर अस्पताल, झुर्कियामा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको जनाएको छ। इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक कैलाश लिम्बूको नेतृत्वमा रहेको प्रहरी टोलीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन सबै चालकलाई आग्रह गर्दै मापसेका कारण हुने दुर्घटनाले मानवीय र भौतिक दुवै किसिमको ठूलो क्षति पुर्याउने भएकाले ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
