चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महायोजना

झापा । NASA ले चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा स्थायी मानव बस्ती निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । नासाले वासिङ्टनस्थित मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत चन्द्र पूर्वाधार विकाससम्बन्धी दीर्घकालीन रणनीति सार्वजनिक गरेको हो ।
नासाका अनुसार चन्द्र अभियानलाई तीन चरणमा कार्यान्वयन गरिनेछ । पहिलो चरणमा सन् २०२९ सम्म रोबोटिक उपकरणमार्फत चन्द्र सतहको अध्ययन, परीक्षण तथा आवश्यक प्रविधिको प्रदर्शन गरिनेछ । दोस्रो चरणमा प्रारम्भिक आवास, विद्युत् उत्पादन र सञ्चार प्रणाली विकासमा ध्यान केन्द्रित गरिने बताइएको छ ।
त्यस्तै, सन् २०३२ पछि सुरु हुने तेस्रो चरणमा चन्द्रमामा दीर्घकालीन मानव उपस्थिति कायम गर्ने तथा त्यहाँ उपलब्ध स्रोत–साधन उपयोग गर्न सक्ने उन्नत प्रविधि विकास गरिने लक्ष्य राखिएको छ ।
नासाले चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा लामो समयसम्म सूर्यको प्रकाश उपलब्ध हुने भएकाले उक्त स्थानलाई प्राथमिकता दिएको जनाएको छ । यसले सौर्य ऊर्जामार्फत ऊर्जा उत्पादन गर्न सहज हुने विश्वास गरिएको छ । साथै, चन्द्रमाको सबैभन्दा पुरानो भूभाग नजिक पर्ने भएकाले यो क्षेत्र वैज्ञानिक अनुसन्धानका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ ।
वैज्ञानिकहरूले यस क्षेत्रबाट प्राप्त हुने नमूनाले चन्द्रमाको उत्पत्ति, पृथ्वी–चन्द्र प्रणालीको प्रारम्भिक अवस्था तथा सौर्यमण्डलको विकासबारे नयाँ जानकारी दिन सक्ने बताएका छन् ।
नासाले भविष्यका गहिरा अन्तरिक्ष अभियानलाई सफल बनाउन चन्द्रमालाई अनुसन्धान र प्रविधि परीक्षण केन्द्रका रूपमा विकास गर्ने तयारी गरेको जनाएको छ । यस परियोजनामा अन्तर्राष्ट्रिय साझेदार तथा निजी क्षेत्रको पनि महत्वपूर्ण सहभागिता रहने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
