विर्तामोडमा १० लाखभन्दा बढी मूल्यका सहायक सामग्री वितरण, अपाङ्गता भएका व्यक्तिलाई राहत

विर्तामोड, झापा । सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, करुणा फाउन्डेसन नेपाल र विर्तामोड नगरपालिकाको त्रिपक्षीय लागत साझेदारीमा तथा राष्ट्रिय अपाङ्गता महासंघको प्राविधिक सहयोगमा सञ्चालित “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सहायक सामग्री वितरण गरिएको छ।
विर्तामोड नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षता रहेको थियो भने नगर प्रमुख पवित्रा महतारा प्रसाईँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नगर योजना अधिकृत जय तिम्सिना, विर्तामोड अपाङ्गता भएका व्यक्तिहरूको संस्था (ओपिडी) का अध्यक्ष चन्द्रप्रसाद भट्टराई, कार्यपालिका सदस्य निर्मला गजमेर, मेची बहिरा सङ्घका अध्यक्ष देवी निरौला तथा विर्तामोड नगरपालिका–३ का वडा अध्यक्ष मदन बुढाथोकी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनलाई सहज बनाउन विभिन्न प्रकारका सहायक सामग्री वितरण गरिएको हो। वितरण गरिएका सामग्रीमा १० थान ह्वीलचेयर, ४० थान श्रवण यन्त्र, ५ थान रोलेटर वाकर, ५ थान वैशाखी, ५ थान सीपी ह्वीलचेयर, ७ थान शौचालय चेयर, २ वटा ट्राइसाइकल, ११ थान सेतो छडी, ५ थान एल्बो स्टिक, ५ थान ट्राइपड स्टिक, १ थान एयर मेट्रेस, ७ थान वाकर, ७ थान क्वाड्रिपड स्टिक तथा ५ थान एल–केन रहेका छन्।
महिला विकास अधिकृत पुष्पा कार्कीका अनुसार उक्त कार्यक्रमअन्तर्गत रु. १० लाख ६० हजार ७ सय बराबरका सहायक सामग्री खरिद गरी आवश्यकताका आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई वितरण गरिएको हो।
कार्यक्रममा वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच र जीवनस्तर सुधारका लागि यस्ता कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै आगामी दिनमा समेत सहायक सामग्री वितरण तथा पुनःस्थापना सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
सहायक सामग्री प्राप्त गरेपछि लाभग्राहीहरूले दैनिक क्रियाकलाप सञ्चालनमा सहजता आउने विश्वास व्यक्त गर्दै कार्यक्रमका आयोजक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
