साउने संक्रान्तिसँगै सुरु भयो साउन महिना, मेहेन्दी र हरियो चुराले छायो उत्सवमय माहोल

साउन १ । सविता मर्डी । झापा
नेपाली महिलाहरूको विशेष पर्व, आस्था र उमङ्गको महिना साउन आज साउने संक्रान्तिसँगै औपचारिक रूपमा सुरु भएको छ । असार महिनाको समाप्तिसँगै देशभरका महिलाहरूले मेहेन्दी लगाएर, हरियो–पहेँलो चुरा तथा पोते पहिरिएर साउनको पहिलो दिन उल्लासपूर्वक मनाइरहेका छन् ।
हिन्दू धर्मअनुसार साउन महिनालाई भगवान शिवको अत्यन्त प्रिय महिना मानिन्छ। यस अवसरमा आज बिहानैदेखि काठमाडौंस्थित पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा पूजा–आराधना गर्ने श्रद्धालु महिला भक्तजनहरूको उल्लेख्य भीड लागेको छ।
साउन महिनाभर विशेषगरी सोमबारको व्रतको धार्मिक महत्त्व रहेको विश्वास छ। विवाहित महिलाहरूले परिवारको सुख, शान्ति, समृद्धि तथा श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा छ भने अविवाहित युवतीहरूले सुयोग्य जीवनसाथी प्राप्तिको कामना गर्दै भगवान शिवको पूजा गर्ने चलन रहिआएको छ।
साउन सुरु भएसँगै बजारहरूमा मेहेन्दी, हरियो चुरा, पोते तथा साउनसँग सम्बन्धित सामग्री खरिद गर्नेहरूको चहलपहल पनि बढेको छ। पछिल्ला वर्षहरूमा साउनलाई धार्मिक पर्वसँगै सांस्कृतिक उत्सवका रूपमा समेत मनाउने प्रचलन बढ्दै गएको देखिन्छ।
नेपाली समाजमा साउने संक्रान्तिले धार्मिक आस्था, सांस्कृतिक परम्परा र महिलाहरूबीचको आपसी सद्भाव तथा खुसी साटासाट गर्ने अवसरका रूपमा विशेष महत्व बोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
