कतारमा मृत फेला परेका गोपाल सोरेनको शव स्वदेश ल्याइयो, आज गृहजिल्लामा अन्त्येष्टि

रङ्गेली, मोरङ — वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका मोरङको रङ्गेली नगरपालिका–९, सखुवाथान निवासी अन्दाजी ३५ वर्षीय गोपाल सोरेनको पार्थिव शरीर स्वदेश ल्याइएको छ। सोरेनको आज स्थानीय घाटमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।
करिब १५ दिनअघि कतारस्थित आफू बस्दै आएको डेराबाट केही मिटर टाढा सोरेन मृत अवस्थामा फेला परेका थिए। उनको मृत्युको कारण भने हालसम्म स्पष्ट हुन सकेको छैन । कतारमा आवश्यक कानुनी तथा प्रक्रियागत काम पूरा गरेपछि सोरेनको पार्थिव शरीर आज नेपाल ल्याइएको परिवारजनले जनाएको छ ।
शव गाउँ ल्याइएपछि परिवार, आफन्त तथा स्थानीय बासिन्दा शोकमा डुबेका छन्। कमाएर परिवारको उज्ज्वल भविष्य बनाउने सपना बोकेर वैदेशिक रोजगारीमा गएका सोरेनको असामयिक निधनपछि सिङ्गो सखुवाथान गाउँ शोकमग्न बनेको छ ।
घटनाको सत्यतथ्य छानबिन गरी मृत्युको कारण सार्वजनिक गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न परिवारजन र स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
