कनकाई फोहोर परियोजना विवादमा, २१ करोड खर्च तर उपलब्धि शून्यजस्तै

सिर्जन मिडिया
२०८३/०२/१२
View Updating
लाइभ: १२ पढ्दैछन्
कनकाई फोहोर परियोजना विवादमा, २१ करोड खर्च तर उपलब्धि शून्यजस्तै

झापाको कनकाई नगरपालिकामा निर्माण गरिएको फोहोर व्यवस्थापन परियोजनाको दुरवस्थाबारे संसदमा आवाज उठेको छ। खुस्बु ओली ले प्रतिनिधिसभामा बोल्दै ठूलो लगानीमा निर्माण गरिएको आयोजना अहिले प्रयोगविहीन अवस्थामा पुगेको बताएकी हुन्।

मंगलबार विशेष समयमा धारणा राख्दै उनले कनकाई नगरपालिका–२ मा स्थापना गरिएको ‘कनकाई वीरता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर व्यवस्थापन कम्पनी लिमिटेड’ नामक परियोजना उद्देश्यअनुसार सञ्चालन हुन नसकेको आरोप लगाइन्। उनका अनुसार तीन नगरपालिका, विश्व बैंक, वैकल्पिक ऊर्जा क्षेत्र तथा सयौं स्थानीय उपभोक्ताको लगानीमा निर्माण गरिएको उक्त आयोजनामा २१ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

तर, यति ठूलो रकम खर्च हुँदा पनि परियोजनाबाट उल्लेखनीय उत्पादन हुन नसकेको सांसद ओलीको भनाइ छ। उनले आयोजनाबाट दैनिक अत्यन्त न्यून मात्रामा मात्रै बायोग्यास उत्पादन भइरहेको दाबी गरिन्। साथै, परियोजनामा प्रयोग गरिएका उपकरण र मेसिनसमेत चोरी हुने अवस्था आएको भन्दै उनले गम्भीर अनियमितताको संकेत गरेको बताइन्।

सांसद ओलीले सम्भाव्यता अध्ययन नगरी सानका खोलाको किनारमा परियोजना निर्माण गरिएको दाबी गर्दै सुरुदेखि नै योजनामा कमजोरी रहेको उल्लेख गरिन्। “अध्ययनबिना बनाइएको परियोजनाको हालत आज सबैले देखिरहेका छन्,” उनले भनिन्।

उनले सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छन्।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्