विराटनगरमा ऐतिहासिक ‘सनातन सम्मेलन’ सम्पन्न, धार्मिक एकता र सद्भावको सन्देश

झापा । नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय पहिचान बोकेको मुलुक हो। यही विविधताबीचको आपसी सम्मान, सहअस्तित्व र धार्मिक सद्भावलाई अझ सुदृढ बनाउने उद्देश्यले विराटनगरमा ऐतिहासिक ‘सनातन सम्मेलन’ भव्य रूपमा सम्पन्न भएको छ।
प्राचीनकालदेखि हिन्दु, बौद्ध, किराँतलगायत विभिन्न धर्म, संस्कृति, भाषा र परम्पराबीच कायम रहेको एकता र सहिष्णुताको भावनालाई थप मजबुत बनाउने लक्ष्यका साथ आयोजित सम्मेलनले सबै समुदायबीच आपसी भाइचारा, सम्मान र सहकार्यको सन्देश दिएको छ।
सनातन मूल्य, मान्यता तथा साझा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा केन्द्रित उक्त कार्यक्रममा विभिन्न धार्मिक, आध्यात्मिक, सामाजिक तथा बौद्धिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा परमपूजनीय आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरी ज्यू महाराज, किराँत धर्मका प्रमुख गुरु फाल्गुनन्द ज्यूको अवतारका रूपमा सम्मानित श्रद्धेय मुहिङ्गुम अङ्सीमाङ आत्मानन्द लिङ्देन सेइङ ज्यू तथा अन्तर्राष्ट्रिय बौद्ध महासंघ नेपाल च्याप्टरका अध्यक्ष श्रद्धेय फुपु छेम्बे शेर्पा ‘युपतेन जिग्दोल’ ज्यूको सान्निध्य तथा आशीर्वाद रहेको थियो।
सम्मेलनमा सहभागी वक्ताहरूले धार्मिक विविधताबीचको एकता, सांस्कृतिक संरक्षण, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
कोशी प्रदेशको विराटनगर महानगरपालिका–९ स्थित जिल्ला प्रहरी कार्यालयसँगै रहेको मैदानमा सम्पन्न उक्त सम्मेलनमा विभिन्न धर्मावलम्बी, जातजाति, समुदाय, समाजसेवी, युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजक समितिले जनाएको छ।
आयोजक समितिका अनुसार सम्मेलनले कुनै एक धर्म वा समुदायलाई मात्र नभई सबै धर्म, संस्कृति र समुदायबीचको आपसी सम्मान, सहिष्णुता र साझा नेपाली पहिचानलाई थप बलियो बनाउने विश्वास लिइएको छ।
आयोजक : सनातन सम्मेलन कार्यक्रम समिति
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
