विराटनगरमा प्रहरीमाथि चक्कु प्रहार गर्ने युवक पक्राउ

झापा । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–१ स्थित अनुपरण मार्गमा प्रहरी र सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार गर्ने एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार दिउँसो करिब ३ः३० बजे मोरङको रामेछाप घर भई हाल विराटनगर–१ मा बस्दै आएका २९ वर्षीय रविन कार्कीलाई नेपाल सुधार गृह, काठमाडौं पठाउने तयारी भइरहेका बेला उनले एक्कासी धारिलो हतियार प्रहार गरेका हुन्।
प्रहरीका अनुसार कार्कीले कोठाभित्र पसि आत्महत्या गर्न खोजेको भन्ने सूचना प्राप्त भएपछि सीआरभी भेडियारीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। सुधार गृहका कर्मचारीको सहयोगमा सम्झाइबुझाइ गर्ने क्रममा उनले चक्कु प्रहार गर्दा तीन जना सामान्य घाइते भएका छन्।
घाइते हुनेमा सीआरभी भेडियारीमा कार्यरत प्रहरी जवान भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे तथा नेपाल सुधार गृहका कर्मचारी सन्तोष सापकोटा रहेका छन्। उनीहरूको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि थप प्रहरी टोली परिचालन गरी कार्कीलाई घटनास्थलबाट धारिलो हतियारसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
