बिर्तामोडमा सडक पूर्वाधार विकासले फड्को, एक वर्षमै झण्डै ६ किलोमिटर सडक कालोपत्रे

सिर्जन मिडिया
२०८३/०२/२६
View Updating
लाइभ: १२ पढ्दैछन्
बिर्तामोडमा सडक पूर्वाधार विकासले फड्को, एक वर्षमै झण्डै ६ किलोमिटर सडक कालोपत्रे

झापा । झापाको बिर्तामोड नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार विकासलाई तीव्रता दिएको छ। नगरपालिकाले विभिन्न वडा तथा टोलमा ५ किलोमिटर ७५१.२ मिटर सडक कालोपत्रे गरेको जनाएको छ, जुन गत आर्थिक वर्षको तुलनामा उल्लेखनीय प्रगति हो।

नगरपालिकाका अनुसार बिर्तामोड–६ को देवनिया खोला–मियाबारी–बिर्ताबजार सडक, बिर्तामोड–२ को रामचोक–कुमालवाडी सडक तथा बिर्तामोड–१० को द्रोण मार्गलगायतका सडकहरू यस वर्ष कालोपत्रे गरिएका छन्। चालु आर्थिक वर्षमै ७४५ मिटर सडक मर्मत तथा १ किलोमिटर ३३६ मिटर सडक ग्राभेल गर्ने काम पनि सम्पन्न भएको छ।

सडक स्तरोन्नतिका लागि नगरपालिकाले ८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। जेनजी आन्दोलनका कारण केही समय विकास निर्माणका काम प्रभावित भए पनि पुस महिनापछि अधिकांश योजना कार्यान्वयनमा ल्याइएको उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताएका छन्।

बढ्दो शहरीकरणलाई व्यवस्थापन गर्न नगरपालिकाले बिर्तामोड–भद्रपुर र बिर्तामोड–शनिश्चरे सडक खण्डमा सडक चौडीकरण अभियानसमेत सञ्चालन गरिरहेको छ। सडकसँगै भवन, नाला, कल्भर्ट, कम्पाउण्ड वाल तथा अन्य भौतिक पूर्वाधार निर्माणका काम पनि अघि बढाइएको छ।

नगरपालिकाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ यता हालसम्म १०१ किलोमिटरभन्दा बढी सडक कालोपत्रे तथा ३०७ किलोमिटरभन्दा बढी सडक ग्राभेल गरिएको छ। यस अवधिमा सयौं आवास, सामुदायिक भवन, स्वास्थ्य संस्था, प्रशासनिक भवन तथा अन्य पूर्वाधार निर्माण गरी नगरको विकासलाई थप गति दिइएको नगरपालिकाले जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्