आज मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने, केही स्थानमा वर्षाको सम्भावना

झापा । आज मधेश प्रदेश र कोशी प्रदेशका तराई जिल्लाहरूमा तातो दिन रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। देशभरको मौसम भने सामान्यतया आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश स्थानमा आंशिक बदलीको अवस्था रहनेछ।
महाशाखाले हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाएको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानसँगै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
