आज बिहानसम्म ५ प्रमुख राजमार्ग प्रभावित, केही पूर्ण र केही एकतर्फी सञ्चालन

झापा । देशका विभिन्न स्थानमा पहिरो, बाढी तथा सडक मर्मतका कारण पाँच प्रमुख राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै यात्रामा निस्कनुअघि सडक अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ देउराली देवीस्थान क्षेत्रमा पहिरो जाँदा सतुंगल–चित्लाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मर्मत कार्य भइरहेकाले करिब एक महिना सडक बन्द रहने जनाइएको छ।
कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। यस्तै पाँचथरको याङवरक गाउँपालिका–२ देवान क्षेत्रमा पनि बाढीले असर पुर्याएपछि मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडक खण्डमा सवारी आवागमन रोकिएको छ। त्यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ महालक्ष्मी क्षेत्रमा सडक मर्मतका कारण कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको छ।
गण्डकी प्रदेशअन्तर्गत रुकुम पूर्व (रोल्पा क्षेत्र उल्लेखित) को परिवर्तन गाउँपालिका–१ बागुङमा पहिरो खस्दा शहीद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
