आजको मौसम : हिमाल र पहाडमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा गर्मी कायम

झापा ।नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसमको अवस्था फरक–फरक रहने भएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। लुम्बिनी प्रदेशको हिमाली क्षेत्र र कोशी प्रदेशका तराई जिल्लामा समेत बादल लाग्ने सम्भावना छ।
कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा छिटफुट वर्षासँगै हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
यता, कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ।
तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतः सफा रहनेछ। यद्यपि, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई जिल्लामा तातो लहरको प्रभाव कायम रहने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्न सक्ने अनुमान गरिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रको मौसम आंशिक बदलीदेखि मुख्यतः सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाले हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने, पशुचौपाया चराउन जाने तथा खेतीपातीमा संलग्न नागरिकलाई मेघगर्जन, चट्याङ र सम्भावित हिमपातप्रति सतर्क रहन आग्रह गरेको छ। साथै, तराईका बासिन्दालाई अत्यधिक गर्मीबाट बच्न पर्याप्त पानी पिउन, अनावश्यक रूपमा घाममा ननिस्कन र स्वास्थ्यमा विशेष ध्यान दिन सुझाव दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
