एलानी जग्गा आफ्नो भएको दाबी, सन्थाल समुदाय भन्छ– ‘हामी कहाँ जाने ?’

झापा, । झापाको गौरीगञ्ज गाउँपालिका–१ र शिवसताक्षी नगरपालिका-०४, सीमावर्ती क्षेत्रमा रहेको जग्गा विवादका कारण स्थानीय सन्थाल समुदायका परिवारहरू त्रसित बनेका छन्।
स्थानीयका अनुसार १२ कठ्ठा १५ धुर क्षेत्रफलको जग्गाको नापजाँच तथा स्वामित्वको विषयलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ। विवादित क्षेत्र आसपासमा रहेका सन्थाल समुदायका परिवारहरू करिब ४० देखि ५० वर्षदेखि बसोबास गर्दै आएका छन्।
पीडित पक्षले जग्गाधनीले पटक–पटक घर भत्काउने, ठाउँ छाड्न दबाब दिने, डर–धम्की दिने तथा मुद्दा हाल्ने कार्य गरिरहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार जग्गाधनी छिमेकी नै भए पनि स्थानीयले मेलमिलाप गरेर बस्न सुझाव दिँदा समेत नमानेको गुनासो छ।
सन्थाल समुदायका सदस्यहरू भन्छन्, “हामीलाई राम्रोसँग पढ्न–लेख्न आउँदैन। विभिन्न कागजातमा झुक्याएर हस्ताक्षर गराइएको छ। अहिले पूरै एलानी जग्गा आफ्नो भएको दाबी गर्दै हामीलाई हटाउन खोजिएको छ।”
स्थानीयका अनुसार विवाद समाधानका लागि पटक–पटक नापी गरिएको छ। शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका, वडा कार्यालय, अमिन तथा प्रहरीको उपस्थितिमा समेत जग्गा नापजाँच भइसकेको छ। तर, नापीको नतिजाप्रति जग्गाधनी असन्तुष्ट रहँदै आएको बताइएको छ।
पीडित पक्षले आफूहरू कानुनी प्रक्रियालाई स्वीकार गर्न तयार रहेको बताउँदै जग्गाधनीको स्वामित्व जहाँसम्म प्रमाणित हुन्छ, त्यहाँसम्मको जग्गा छाड्न तयार रहेको जनाएको छ।
“यदि हाम्रो घरसमेत उहाँको जग्गाभित्र परेको प्रमाणित भएमा घर हटाउन पनि तयार छौं। तर हामी दशकौँदेखि बसोबास गर्दै आएको सम्पूर्ण जग्गा छाडेर जान सक्दैनौं,” पीडित पक्षको भनाइ छ।
स्थानीय बासिन्दाहरूले दुवै पक्षबीच संवाद र कानुनी प्रक्रियामार्फत विवाद समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। उनीहरूले सन्थाल समुदायलाई विस्थापित हुन नपर्ने गरी न्यायोचित समाधान खोज्नुपर्ने माग समेत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
