विश्वकप २०२६ हेर्ने प्रलोभनमा APK डाउनलोड नगर्न साइबर ब्यूरोको चेतावनी

सिर्जन मिडिया
२०८३/०३/०१
View Updating
लाइभ: १२ पढ्दैछन्
विश्वकप २०२६ हेर्ने प्रलोभनमा APK डाउनलोड नगर्न साइबर ब्यूरोको चेतावनी

झापा, असार १ — नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल र विभिन्न अनलाइन विज्ञापनमार्फत ‘विश्वकप २०२६ निःशुल्क हेर्न सकिने’ भन्दै फैलाइएका शंकास्पद मोबाइल एप तथा लिंकहरूबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

आइतबार जारी गरिएको सूचनामा ब्यूरोले विश्वकप हेर्न सकिने प्रलोभन देखाउँदै एन्ड्रोइड इन्स्टलर फाइल (.apk) डाउनलोड गराउन खोज्ने र मोबाइलमा विभिन्न अनुमति (पर्मिसन) मागेर त्यसको दुरुपयोग गर्दै मोबाइल बैंकिङ ह्याक गरी आर्थिक ठगी गर्ने घटना बढ्दै गएको जनाएको छ।

ब्यूरोका अनुसार ठगी गर्ने समूहले सामाजिक सञ्जालका विज्ञापन तथा अनधिकृत वेबसाइटमार्फत प्रयोगकर्तालाई आकर्षित गरी शंकास्पद एप डाउनलोड गराउन खोजिरहेका छन्। यस्ता एप इन्स्टल गरेपछि प्रयोगकर्ताको मोबाइलमा अनधिकृत पहुँच पुग्न सक्ने र बैंक खाताबाट रकम चोरी हुने जोखिम रहने बताइएको छ।

साइबर ब्यूरोले .apk, .exe, .bat र .sh जस्ता अपरिचित फाइल डाउनलोड तथा इन्स्टल नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, बैंक तथा वित्तीय संस्थासम्बन्धी एपहरू आधिकारिक स्रोतबाट मात्र डाउनलोड गर्न र मोबाइलमा कुनै पनि एप इन्स्टल गर्दा मागिने अनुमति सावधानीपूर्वक जाँच गर्न सुझाव दिएको छ।

ब्यूरोले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत नियमित रूपमा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक सूचना सार्वजनिक गर्दै आएकाले आधिकारिक माध्यमबाट मात्रै जानकारी लिन पनि अनुरोध गरेको छ।

यदि कसैले यस्ता ठगीको प्रयास गरेको वा ठगीमा परेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोको इमेल [email protected] मा जानकारी गराउन आग्रह गरिएको छ।

पछिल्लो समय विश्वकपको नाममा फैलाइएका नक्कली स्ट्रिमिङ एप र वेबसाइटका कारण नेपालमा लाखौँ रुपैयाँ बराबरको आर्थिक क्षति भइसकेको प्रहरीको तथ्यांकले देखाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्