पानी र खेर गएको बिजुलीबाट हरित हाइड्रोजन उत्पादन, बागलुङको बडिगाडमा ऐतिहासिक सफलता

सिर्जन मिडिया
२०८३/०२/०४
View Updating
लाइभ: १२ पढ्दैछन्
पानी र खेर गएको बिजुलीबाट हरित हाइड्रोजन उत्पादन, बागलुङको बडिगाडमा ऐतिहासिक सफलता

बागलुङ । नेपालको ऊर्जा क्षेत्रमा नयाँ इतिहास रच्दै बागलुङको बडिगाड गाउँपालिका मा खोलाको पानी र खेर गएको बिजुलीबाट हरित हाइड्रोजन ग्यास (Green Hydrogen Gas) उत्पादन गरेर चुलो बाल्न सफल परीक्षण गरिएको छ।

नेपालमै पहिलो पटक गरिएको यस प्रयोगले भविष्यमा एलपीजी ग्यासको विकल्पको रूपमा स्वदेशमै स्वच्छ र वातावरणमैत्री इन्धन उत्पादन गर्न सकिने सम्भावना देखाएको छ।

स्थानीय स्तरमा सञ्चालन भइरहेको गिरिङ्दिखोला लघु जलविद्युत आयोजनाबाट खेर गइरहेको बिजुली र पानीलाई “इलेक्ट्रोलाइसिस” (Electrolysis) प्रविधिबाट छुट्याएर हरित हाइड्रोजन ग्यास उत्पादन गरिएको हो। यस प्रक्रियामा पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गरिन्छ, जसबाट प्राप्त हाइड्रोजनलाई इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ।

विशेषज्ञहरूका अनुसार हरित हाइड्रोजन अत्यन्त शक्तिशाली तथा स्वच्छ ऊर्जा स्रोत मानिन्छ। परीक्षणअनुसार जम्मा १ केजी हाइड्रोजन ग्यासले एउटा सानो परिवारलाई करिब एक हप्तासम्म खाना पकाउन पुग्ने क्षमता राख्छ। उत्पादन गरिएको ग्यास सिलिन्डरमा भरेर सुरक्षित रूपमा प्रयोग गर्न सकिने बताइएको छ।

यो प्रविधिको सबैभन्दा ठूलो फाइदा भनेको वातावरणमैत्री हुनु हो। हरित हाइड्रोजन प्रयोग गर्दा धुवाँ वा प्रदूषण निस्कँदैन, जसले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, नेपालले वर्षेनी ठूलो परिमाणमा आयात गर्दै आएको एलपीजी ग्यासमाथिको निर्भरता कम गर्न पनि यसले मद्दत पुर्‍याउन सक्छ।

ऊर्जा क्षेत्रमा काम गर्ने जानकारहरूका अनुसार नेपालमा जलविद्युत उत्पादन बढ्दै जाँदा धेरै समय बिजुली खेर जाने अवस्था देखिन्छ। यस्तो अतिरिक्त विद्युत् उपयोग गरेर हरित हाइड्रोजन उत्पादन गर्न सकिएमा ऊर्जा व्यवस्थापनमा समेत ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ।

हाल यो प्रविधि परीक्षण तथा प्रारम्भिक प्रयोगको चरणमा रहेको छ। भविष्यमा यसको व्यावसायिक उत्पादन र विस्तार गर्न सकिए नेपाल ऊर्जा आत्मनिर्भरताको दिशामा थप अगाडि बढ्ने विश्वास गरिएको छ।

यससँगै नेपालमा जलविद्युतबाट चल्ने इन्डक्सन तथा इन्फ्रारेड चुलोहरूको प्रयोग पनि बढ्दै गएको छ। विद्युत्बाट चल्ने यस्ता चुलोहरू ग्यासको तुलनामा सस्तो, सुरक्षित र सहज विकल्पका रूपमा लोकप्रिय बन्दै गएका छन्।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्